नवनियुक्त प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गर्ने, तत्काललाई निजी निवासमै बस्ने

काठमाडौं । भदौ २८ , नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मात्रै आफ्नो पदभार ग्रहण गर्ने भएकी छन् । शुक्रबार राति पद तथा गोपनीयताको शपथ लिए पनि समयको अभावका कारण पदभार ग्रहण कार्यक्रम आइतबारका लागि सारिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार, शुक्रबार शपथ ग्रहण कार्यक्रम निर्धारित समयभन्दा ढिलो सम्पन्न भएकाले पदभार ग्रहण हुन नसकेको हो । यसअघि, शुक्रबार चाँडै शपथ सकेर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी गरिएको थियो ।
शुक्रबार राति शपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्की आफ्नो निजी निवासमा फर्किएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हालैको ‘जेन-जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले क्षति पुर्याएका कारण तत्काल बस्न सक्ने अवस्था छैन । सरकारी निवासको व्यवस्थापन नहुन्जेलसम्म प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बस्ने उच्च स्रोतले जनाएको छ ।
पूर्व प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘जेन-जी’ युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका बीच अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यस अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी निर्वाचनहरू सम्पन्न गर्नु रहेको छ ।