प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव घोषणा

सहयात्रा टिभी

काठमाडौं । भदौ २८ , नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीको सिफारिसअनुसार भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ ।

विज्ञप्तिअनुसार, आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाका लागि निर्वाचनको मिति तोकिएको छ । पूर्वप्रधानन्यायाधीश कार्कीले शुक्रबार राति पद तथा गोपनीयताको शपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाटै प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकी थिइन् ।

जेन-जी युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमसँगै देशलाई निकास दिन भन्दै कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । यस सरकारको प्रमुख कार्यादेश ६ महिनाभित्र निष्पक्ष निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु रहेको छ ।

सन् २०७९ मा गठन भएको प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न नपाउँदै विघटन भएको हो । यो निर्णयसँगै मुलुक अब पूर्ण रूपमा निर्वाचनतर्फ केन्द्रित भएको छ । राष्ट्रिय सभा भने कायमै रहनेछ ।

प्रकाशित : 13 September, 2025

प्रतिक्रिया दिनुहोस्