भोलिदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, भोलि सोमबारदेखि देशभरि सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन् ।

तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल सञ्चालनमा नआउने हो कि भनेर उपभोक्तामा अन्योल छाएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले कम्पनीले यसअघि योजना बनाएका सबै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिए ।

यी सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म आकर्षक छुटको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलहरूमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ ।

त्यसैगरी खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने छ ।

 

प्रकाशित : 14 September, 2025

प्रतिक्रिया दिनुहोस्