रास्वपाबाट सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा

काठमाडौं । भदौ २९, राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद एवं पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले परित्याग गरेको घोषणा गर्दै पार्टीबाट अलग भएकी छन् ।
उनले आईतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी छाडेको घोषणा गरेकी हुन् । उनले लेखेकी छन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छोडेँ ।’
उनले स्पष्ट रुपमा पार्टी नेतृत्व अर्थात रास्वपा सभापति रवि लामिछानेप्रति संकेत गर्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
उनले नाम र पद नतोकी पार्टी नेतृत्वप्रति संकेत गर्दै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीले बोकिदिनुपर्ने भन्दै प्रश्न उठाएकी छन् । पार्टीभित्र आलोचना गर्नेमाथि मिडिया ट्रायल भएको भन्दै त्यसप्रति आक्रोश पोखेकी हुन् ।
आफ्नो पार्टी नेतृत्वमाथि प्रश्न उठाएकी उनले कांग्रेस एमाले लगायतका नेताहरुमाथि पनि सन्देश दिएकी छन् ।
सहकारी ठगीको आरोपमा मुछिएका रवि लामिछाने सर्वोच्च अदालत समेतको आदेशका कारण थुनामा छन् । लामिछाने सहकारी ठगीको आरोपमा लागेदेखि नै रास्वपाले संस्थागत रुपमा नै उनको बचाउ गरेको थियो ।
संसद्मा प्रश्न उठ्दादेखि सहकारी छानबिन विशेष समिति गठन र अनुसन्धानमा समेत रास्वपा उनीमाथिको व्यक्तिगत आरोपलाई पार्टीमाथिकै आरोपको रुपमा व्यवहार गर्दै प्रतिवाद गरिरह्यो ।
पछिल्लो एक वर्षयता सुमना श्रेष्ठले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर सांसदको भूमिकामा केन्द्रित हुन चाहेकी थिइन । पटकपटक राजीनामा दिन चाहेकी उनलाई कहिले रवि लामिछानेको पक्राउ कहिले उनीविरुद्धको मुद्दाले व्यवधान गरेको थियो ।
पार्टीमा बुझाइएको राजीनामाबारे कुनै निर्णय नगरी अन्यत्र चुहाइएको भन्दै उनले ४ वैशाख, २०८२ मा पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
त्यसक्रममा उनीमाथि सामाजिक सञ्जाल र अन्यत्र कैयौं व्यक्तिगत लाञ्छना र अन्य आरोपहरु सार्वजनिक भएको थियो, जसलाई उनले ‘मिडिया ट्रायल’ भनी संकेत गरेकी छन् ।