बारबरा फाउन्डेशनमा कुनै आर्थिक सम्बन्ध नरहेको हामी नेपालको स्पष्ट

काठमाडौं । भदौ २९, बारबरा फाउन्डेशनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिड महामारीको समयमा सहकार्य गरेको भए पनि कुनै आर्थिक सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
फाउन्डेशनले आफ्नो नाम जोडेर भ्रामक प्रचार भएको भन्दै आपत्ति जनाएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै फाउन्डेशनले हामी नेपालसँग कोभिड महामारीको समयमा सहकार्य भएको, तर सो संस्था वा यसका पदाधिकारीसँग कुनै आर्थिक सम्बन्ध नभएको जनाएको हो ।
फाउन्डेशनले पछिल्लो राजनीतिक अवस्थाका कारण आफूमाथि लगाइएका आरोपलाई ‘अनर्गल प्रचार’ भन्दै खण्डन गरेको छ ।
गैरनाफामूलक सामाजिक संस्था बारबरा फाउन्डेशनको स्थापना अमेरिकी नागरिक बारबरा एडम्सको नाममा गरिएको थियो । उनले आफ्नो सम्पूर्ण सम्पत्ति फाउन्डेशनलाई दान गरेको र नेपाली नागरिककै रूपमा यहीँ देहत्याग गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक फाउन्डेशनले खोजपत्रकारिता पुरस्कार, वातावरण, संस्कृति, र सम्पदा संरक्षणका लागि फेलोसिप, तथा टक सेरिज सञ्चालन गर्दै आएको छ ।
फाउन्डेशनले जनाएअनुसार हालसम्म बारबरा एडम्सको सम्पत्तिबाट २ करोड ८८ लाख र नेपाली दाताहरूबाट कुल ७ करोड ८२ लाख प्राप्त गरेको छ ।
संस्थाको वार्षिक बजेट ५० लाख रहेको र ८ वर्षमा ३ करोड ६४ लाख खर्च भएको छ । हाल ३ करोड ९५ लाख बैंक मौज्दात रहेको फाउन्डेसनले जनाएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा भाइरल भिडियो, जसमा हामी नेपालले ‘हामी सबै कुरा सन्दुक रुइतलाई सोधेर उहाँको निर्देशनमा गछौं’ भनिएको छ, त्यसबारे पनि फाउन्डेशनका सन्दुक रुइतले खण्डन गरेका छन् ।
‘त्यो कोभिडको समयको भिडियो हो । त्यसबेला हामीले सहयोग गरेका थियौं । अहिले त्यही पुरानो भिडियो फैलाइएको हो । अहिले त्यो संस्थासँग कुनै सम्बन्ध छैन । कुनै बेला म सुधन राईको मेन्टरचाहिँ हुँ,’ रुइतले पत्रकार सम्मेलनमा भने ।