पहिलो प्राथमिकता हेरेर सरकार अगाडि बढ्ने गृहमन्त्री अर्यालको प्रतिवद्धता

काठमाडौं । भदौ ३०, नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । उनी पदभार ग्रहण गर्न जलेका सवारी साधन र डढेका भवनहरू नियाल्दै सिंहदरबार पुगेका थिए ।
यही २४ भदौमा सिंहदरबार जल्दा गृहमन्त्रालयको भवन पनि जल्यो । त्यसपछि कम क्षति भएको भवनलाई नयाँ गृहमन्त्रालय बनाइएको छ । रेडियो नेपाल पछाडिको भवनमा पुगेर पदभार ग्रहण गरेपछि मन्त्री अर्यालले जेन(जी आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेको बताए ।
मन्त्री अर्यालका अनुसार सुरुमा तथ्याङ्क संकलन गरिनेछ । त्यसपछि राज्यको क्षमता कति छ, के छ हेरिनेछ । यस आधारमा केलाई पहिलो प्राथमिकतामा राख्ने तय गरिनेछ । राज्यको बजेट हेरेर तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्ने काम तय गरेर सरकार अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
यी गृहमन्त्रालयको विषय मात्रै नभएकाले सरकारले नै थप छलफल गरेर नीति तय गर्ने पनि उनले बताए । अर्यालले भने, ‘यी सबै कुराहरू यो मन्त्रालयको विषय मात्रै होइन । अरू मन्त्रालय र एजेन्सीहरूसँग छलफल गर्नुपर्ने हुन्छ ।’
सिंहदरबार लगायतका संरचनालाई ठिकठाक बनाउन नागरिकको समेत भूमिकाको अपेक्षा गृहमन्त्री अर्यालले राखेका छन् । ‘नागरिककै पनि भूमिका हुन्छ । नागरिकस्तरबाट पनि सहयोग जुटाएर गर्नुपर्ने हुनसक्छ,’ उनी भन्छन्, ‘पुलिस पोस्टहरू नहुँदा हामी नै असुरक्षित भएका छौं ।’