बीपी राजमार्ग आजदेखि चौबीसै घण्टा खुला

सहयात्रा टिभी

काठमाडौं । असोज १ , मनसुनजन्य जोखिमका कारण रात्रिकालीन समयमा यातायात सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग आज, (असोज १ गते)देखि चौबीसै घण्टा खुला गरिएको छ। आउँदै गरेको दसैँ, तिहारजस्ता चाडपर्वमा यात्रुहरूको आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरिएको हो।

काभ्रेको जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गलाई पूर्णकालीन सञ्चालनमा ल्याउने निर्णय गरेको हो। स्थानीय प्रशासनले स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार नै आवश्यक सजगता अपनाएर सडक खुला गरिएको जनाएको छ।

गत असार पहिलो सातादेखि नै बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोकस्थित धुलिखेलदेखि सिन्धुलीको नेपालथोक सिमानासम्मको खण्डमा रात्रिकालीन सवारी आवतजावतमा रोक लगाइएको थियो। भदौ मसान्तसम्म राति १२ घण्टाका लागि यातायात बन्द गरिँदै आएको थियो।

राजमार्ग खुले पनि काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्ड अझै जोखिमपूर्ण रहेको बताइएको छ। गत वर्ष असोजमा आएको बाढीपहिरोले पनि यस राजमार्गको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म करिब आठ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो, जसलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको थियो।

सम्बन्धित निकायले राजमार्गका क्षतिग्रस्त खण्डहरूको स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाएको छ। पूर्वी नेपाल जोड्ने यो छोटो दूरीको राजमार्ग भएर दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन्।

प्रकाशित : 17 September, 2025

प्रतिक्रिया दिनुहोस्