विराटनगरमा एक व्यक्तिले आफ्नै भाउजूमाथि एसिड प्रहार

काठमाडौं । असोज ७, विराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् ।
स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार घटना सोमबारको हो । एसिड प्रहारबाट घाइते महिलाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।
प्रहरीका अनुसार भाउजुमाथि एसिस प्रहार गर्नका लागि देवरले वियरको बोतलमा एसिड लिएर आएका थिए ।
दाजु घरमा नभएको मौकामा उनले भाउजुमाथि एसिड प्रहार गरेका थिए ।
अनुहारमा प्रहार गरेको एसिड रोक्ने क्रममा महिलाको हात र शरीरका अन्य भागमा लागेको छ । उनले लगाएको सल एसिडले जलेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेन विवादमा महिलामाथि एसिड प्रहार भएको खुलेको छ ।
मोरङ प्रहरीकी प्रवक्ता, डीएसपी कोपिला चुँडालले एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् ।
घरायसी विवादमा एसिड प्रहार भएको बताउँदै उनले घाइते महिलाको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।