गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, दुईजना घाइते

सहयात्रा टिभी

काठमाडौं । असोज ९, गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेर नेरसिंह र सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको सारुले बताए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली आज बिहानै घटनास्थल पुगिसकेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित : 25 September, 2025

प्रतिक्रिया दिनुहोस्