इजरायल जाँदै ट्रम्प, हमासको कब्जामा रहेका बन्दीलाई आज रिहा गरिँदै

काठमाडौं । असोज २७, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हमासद्वारा बन्धक बनाइएका बन्दीहरूको रिहाइका लागि आयोजना हुने विशेष समारोहमा सहभागी हुन इजरायल जाँदै छन् । गाजामा युद्धविराम गराउने र बन्धकहरूलाई मुक्त गर्ने सम्झौताको औपचारिक कार्यान्वयन समारोहमा सहभागी हुन उनी इजरायल जान लागेका हुन्।
हमासले नियन्त्रणमा लिएका सबै बन्धकहरूलाई मुक्त गर्नका लागि स्थानीय समयअनुसार सोमबार दिउँसो १२ बजेको अन्तिम समयसीमा तोकिएको छ।
इजरायल प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ‘युद्ध समाप्त भएको’ घोषणा गरे। उनले युद्धविराम स्थायी रहने र गाजाको व्यवस्थापनका लागि ‘बोर्ड अफ पिस’ नामक एक निकाय चाँडै गठन गरिने जानकारी दिए। ट्रम्पले सम्झौताका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मध्यस्थकर्ताको भूमिका खेलेको कतारको प्रशंसा गरे।
राष्ट्रपति ट्रम्पको मध्यस्थतामा गत शुक्रबार बिहानदेखि लागू भएको युद्धविराम २० बुँदे शान्ति योजनाको पहिलो चरण हो। यस चरणमा हमासले बन्धकहरूलाई रिहा गर्नेछ। पहिलो चरणमा करिब २० जना इजरायली बन्धक जीवितै र २८ जना मृतक बन्धकको शव फिर्ता गरिनेछ।
सम्झौताअनुसार, इजरायलले पनि करिब २५० प्यालेस्टिनी कैदी र गाजाबाट पक्राउ परेका १,७०० जनालाई रिहा गर्नेछ। इजरायली सरकारका प्रवक्ताका अनुसार हमासले छाडेका जीवित बन्धकहरू इजरायली भूमिमा पुगेपछि मात्र प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरिनेछ। साथै, गाजामा मानवीय सहायता सामग्रीको मात्रा पनि बढाइनेछ।
विपिन जोशीको अवस्था अझै अज्ञात
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो। उक्त आक्रमणमा १० नेपालीसहित करिब १,२०० जनाको मृत्यु भएको थियो भने कञ्चनपुरका विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाइएको थियो। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार विपिनको अवस्था अझै अज्ञात छ।
इजरायलले गरेको जवाफी सैन्य कारबाहीमा गाजामा ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसमा १८ हजारभन्दा बढी बालबालिका छन्।
ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने, शान्ति सम्झौतामा हस्ताक्षर हुने
राष्ट्रपति ट्रम्प सोमबार इजरायल पुगेर त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि उनी इजिप्टको शर्म अल–शेखमा आयोजना हुने शिखर सम्मेलनको नेतृत्व गर्न जानेछन्, जहाँ इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी पनि सहभागी हुनेछन्। इजिप्टको विदेश मन्त्रालयका अनुसार सो सम्मेलनमा ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’ मा हस्ताक्षर हुनेछ। समारोहमा बेलायती प्रधानमन्त्री सर कियर स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलगायत २० भन्दा बढी देशका नेताहरू सहभागी हुने बताइएको छ।
बीबीसीसँग कुरा गर्दै ट्रम्पले युद्धविराम कायम रहनेमा विश्वास व्यक्त गरे। “म युद्ध समाधान गर्न जान्दछु र शान्ति स्थापना गर्न सक्षम छु,” उनले भने।
यद्यपि, बीबीसीले विश्लेषण गरेअनुसार शान्ति योजनाका आगामी चरणहरू, विशेषगरी गाजाको प्रशासन, इजरायली सेनाको फिर्ती र हमासको निशस्त्रीकरणजस्ता विषयमा सहमति जुटाउन भने चुनौतीपूर्ण हुने देखिन्छ।