एमाले सचिवालय : पाँच नेताले मागे अध्यक्ष ओलीको राजीनामा, बहुमत महाधिवेशनको पक्षमा

काठमाडौं । असोज २७, नेकपा एमालेको १८ सदस्यीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तत्काल राजीनामा मागिएको छ। यद्यपि, बहुमत सदस्यहरूले नेतृत्व परिवर्तन वा अनुमोदनजस्ता विषय महाधिवेशनबाटै टुङ्ग्याउनुपर्ने धारणा राखेका छन्।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको अस्थायी निवासमा शुक्रबार र आइतबार बसेको बैठकमा ५ जना पदाधिकारीले अध्यक्षको राजीनामा मागेका थिए भने बाँकी १३ जनाले नेतृत्वसम्बन्धी निर्णय लिने वैधानिक थलो महाधिवेशन नै भएकोमा जोड दिएका थिए।
बैठकमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले अध्यक्ष ओलीले तत्काल पद छाडेर नयाँ पुस्तालाई महाधिवेशन आयोजक कमिटीको संयोजक तोक्नुपर्ने प्रस्ताव राखेका थिए।
तर, बहुमत पदाधिकारीहरूले नेतृत्व परिवर्तनको विषय महाधिवेशनबाटै टुङ्ग्याउनु पर्ने अडान लिए। पार्टीका एक पदाधिकारीका अनुसार, “पार्टीमा केही न केही गरौं भन्ने हुटहुटी सबैमा छ, तर कहिले र कसरी गर्ने भन्नेमा मात्रै मतभेद देखिएको हो।”
बैठकले पार्टीको ११औं महाधिवेशन आगामी मंसिर महिनाको अन्तिम सातामा आयोजना गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। महाधिवेशनको यकिन मिति भने केन्द्रीय कमिटी बैठकले तोक्नेछ।
पार्टीको १०औं केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म ललितपुरको जावलाखेलस्थित राम बाग महल पार्टी प्यालेसमा बस्ने तय भएको छ। उक्त बैठकले संसद विघटनविरुद्ध संघर्षका कार्यक्रमहरू पनि तय गर्ने बताइएको छ।