मेची राजमार्गको राजदुवाली खण्ड पुनर्निर्माणको काम स्थगन, तत्काल सडक नखुल्ने

सहयात्रा टिभी

काठमाडौं । असोज २७, गत असोज १८ गतेको अविरल वर्षाले निम्त्याएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गको इलाम–राजदुवाली खण्ड नौ दिन बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । जटिल भू-धरातल र लगातार सडक भासिने समस्याका कारण राजमार्ग खुलाउने सरकारी प्रयास असफल भएपछि सडक डिभिजन कार्यालयले तत्कालका लागि पुनर्निर्माणको काम स्थगन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, राजमार्ग खुलाउने प्रयास निरन्तर गरिए पनि भू-संरचनाको जटिलताले तत्काल सञ्चालनमा ल्याउन असम्भव देखिएको हो । सडक डिभिजनका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले पनि राजदुवाली खण्ड खुलाउन नसकिएको स्वीकार्दै हाल सम्पूर्ण स्रोतसाधन र जनशक्ति वैकल्पिक मार्ग तयार गर्नमा केन्द्रित गरिएको बताएका छन् ।

राजमार्ग बन्द हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका हजारौँ यात्रुको आवागमन ठप्प भएको छ भने मालवाहक सवारी साधन पूर्ण रूपमा रोकिएका छन् । प्रशासनले साना सवारीका लागि दुईवटा वैकल्पिक मार्ग पहिचान गरेको छ । आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल हुँदै सवारी सञ्चालनमा ल्याइएको छ भने सोमबारदेखि तिल्केनी–सिमलगोलाई खण्डलाई तयार गरिँदैछ । जोगमाई खोलामा ह्युमपाइप राखेर डाइभर्सन बनाउने काम भइरहे पनि यी मार्गहरू साँघुरा र तीव्र मोड भएका कारण ठूला सवारीका लागि उपयुक्त नभएको प्रजिअ नेपालले स्पष्ट पारिन् ।

स्थानीयको पहलमा काठको पुल तयार

एकातिर सरकारी संयन्त्र राजमार्ग खुलाउन असफल भइरहेका बेला, अर्कोतर्फ स्थानीय नागरिकले भने उदाहरणीय काम गरेका छन् । सोही बाढीले बगाएको मेची करिडोरअन्तर्गत पुवाखोलाको बेलिब्रिजको ठाउँमा स्थानीयवासीले श्रमदानबाट काठको मोटरेबल पुल नै तयार पारेका छन् ।

स्थानीय युवा रोशन राईको नेतृत्वमा इलाम नगरपालिका–९ र ११ का बासिन्दा तथा नेपाली सेनाको सहयोगमा ५० फुट लामो र आठ फुट चौडा काठको पुल निर्माण गरिएको हो । पाँच दिनको निरन्तर श्रमदानपछि पुल बनेसँगै सदरमुकामसँग टुटेको सम्बन्ध पुनः जोडिएको छ । सरकारी निकायले मुख्य राजमार्ग बनाउन नसक्दा नागरिक आफैँ अग्रसर भएर वैकल्पिक पूर्वाधार तयार पारेको यो एक सशक्त उदाहरण बनेको छ ।

प्रकाशित : 13 October, 2025

प्रतिक्रिया दिनुहोस्