हमासले बुझाएको विपिनको शव इजरायली सैनिक अस्पतालमा, डीएनए परीक्षणपछि नेपाल पठाइने

सहयात्रा टिभी

काठमाडौं । असोज २८, हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि भएसँगै उनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ। अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) मार्फत हमासले हस्तान्तरण गरेको जोशीको शव हाल इजरायली सेनाको नियन्त्रणमा रहेको एक सैनिक अस्पतालमा राखिएको छ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार शवको आधिकारिक पहिचानका लागि डीएनए परीक्षण लगायतका कानुनी प्रक्रिया अगाडि बढाइएको छ। यो प्रक्रिया पूरा भएपछि मात्र शव नेपाल पठाइने छ।

“हमासले विपिन जोशीको भनेर बुझाएको शवको पहिचान डीएनए परीक्षणपछि मात्रै पुष्टि हुनेछ,” इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले भने, “रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने जानकारी आएको छ। त्यसपछि मात्र नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ।”

राजदूत पण्डितका अनुसार इजरायल सरकारले नै शवलाई कफिनमा राखेर नेपाल पठाउने व्यवस्था मिलाउनेछ, यद्यपि यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ।

अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा परेका थिए। सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने हमासका लडाकुले विपिनलाई बन्धक बनाएर लगेका थिए। त्यसयता उनको अवस्था अज्ञात थियो।

इजरायल र हमासबीच भएको युद्धविरामका क्रममा बन्दीहरूको रिहाइ गर्दा हमासले मंगलबार विपिनको शव हस्तान्तरण गरेको हो। त्यसअघि इजरायली सेनाले मंगलबार बिहान मात्रै विपिनको मृत्यु भएको औपचारिक जानकारी नेपाली दूतावासलाई दिएको थियो।

प्रकाशित : 14 October, 2025

प्रतिक्रिया दिनुहोस्