संयुक्त राष्ट्र प्रमुखले गरे गाजा युद्धविरामको स्वागत 

सहयात्रा टिभी

काठमाडौं । असोज २८, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन्।

उनले यस युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न अपील गरेका छन् । गुटेरेसले गाजामा आर्थिक सहयोगको विषयमा पनि चिन्ता व्यक्त गरे।

उनले भने, ‘संयुक्त राष्ट्र र यसका साझेदारहरूले द्रूत गतिमा राहत कार्यहरू सञ्चालन गरिरहेका छन्। उनीहरू महिनौँदेखि सम्पर्कविहीन भएका इलाकाहरूमा पुगिरहेका छन्।’

उनले थपे, ‘तर, आवश्यकताहरू अझै धेरै ठूला छन्। यसका लागि लगातारको पहुँच र वित्तीय सहयोग अति महत्त्वपूर्ण छ।’

गुटेरेसले भने, ‘म सबैलाई यस युद्धविरामलाई बलियो बनाउन र यसलाई स्थायी शान्तिमा बदल्न अपील गर्दछु।’

उता, बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले गाजा शान्ति योजनामा हस्ताक्षर भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तारिफ गरेका छन्।

स्टार्मरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्प, यो तपाईंको उपलब्धि हो। यस अवसरका लागि तपाईंले गर्नुभएको अथक प्रयासका लागि म तपाईंलाई धन्यवाद दिन्छु।’

प्रधानमन्त्री स्टार्मरले बेलायत यस शान्ति योजनालाई पूर्ण रूपमा लागू गर्नका लागि आफ्नो समर्थन दिन तयार रहेको बताए ।

सोमबार इजिप्टमा भएको एक शिखर सम्मेलनमा गाजा शान्ति योजनामा हस्ताक्षर गरिएको थियो। यस सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूले भाग लिएका थिए।

प्रकाशित : 14 October, 2025

प्रतिक्रिया दिनुहोस्