जेनजी आन्दोलनमा एमालेका कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न नेताहरूको माग

काठमाडौं । असोज ३०, नेकपा एमालेको केन्द्रीय समिति बैठक हिजो (बुधबार) देखि जारी छ । ललितपुरको एक होटलमा जारी बैठकमा अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरूलाई ३ मिनेटको समय छुट्याइएको छ ।
विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन गरिएको छैन । यसैबीच आफ्ना कुराहरू तीन मिनेटमा नसकिने भन्दै नेताहरूले लिखित पनि बुझाइरहेका छन् ।
केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि अध्यक्ष ओलीले जवाफ दिनेछन् । अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।