आज धनतेरस : धातुका सामान किन्नेको घुइँचो, साँझ घरघरमा यमदीप दान

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि धनतेरस पर्वका साथ सुरु भएको छ । यस दिनलाई धन त्रयोदशी वा भाण्ड त्रयोदशी पनि भनिन्छ । धनकी देवी लक्ष्मी र धनका देवता कुबेरको कृपा प्राप्त हुने विश्वासका साथ आज सुन, चाँदी, तामा, पित्तल लगायतका धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर घर भित्र्याउने परम्परा छ ।

यसरी किनिएका सामग्री घरमा ल्याएर पूजा गर्दा धनकी देवी लक्ष्मी प्रसन्न भई स्थिर रूपमा बास गर्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीमा गहिरो विश्वास छ । यही विश्वासका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यका लगायत देशैभरका भाँडा तथा गरगहना पसलहरूमा ग्राहकको बाक्लो उपस्थिति देखिएको छ । व्यापारीहरूले पनि साताअघिदेखि नै पसलमा विभिन्न धातुका भाँडा सजाएर राखेका थिए ।

आज किनेर ल्याइएका नयाँ भाँडाकुँडालाई कतिपयले आजै साँझ पूजा गर्छन् भने धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्दा प्रयोगमा ल्याउँछन् । पौराणिक मान्यताअनुसार आज धनका अधिपति कुबेरको जन्मदिन पनि हो । त्यसैले आज उनको विशेष पूजाआराधना गर्ने चलन छ ।

यसैबीच, आज साँझदेखि यमराजलाई प्रसन्न पार्न र यम यातनाबाट मुक्ति मिल्ने कामनाका साथ घरका सदस्य सङ्ख्याअनुसार यमदीप दान गर्ने कार्यको पनि सुरुवात हुँदैछ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार यमदीप दान गर्नाले परिवारको आयु र आरोग्य वृद्धि हुने शास्त्रीय मान्यता रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार र धन्वन्तरि जयन्ती भने भोलि (आइतबार) परेको जनाएको छ । आज धनतेरस र यमदीप दानबाट विधिवत् रूपमा दीपावलीको रौनक सुरु भएको छ, जुन कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म चल्नेछ ।

प्रकाशित : 18 October, 2025

प्रतिक्रिया दिनुहोस्