सार्वजनिक स्थानमा देउसीभैलो खेल्न नपाइने, राति ९ बजेपछि रोक

काठमाडौं । कात्तिक २, यस वर्षको तिहारमा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले देउसीभैलो खेल्नका लागि समयसीमा तोक्दै सार्वजनिक सडक र पदमार्गमा खेल्न प्रतिबन्ध लगाएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै राति ९ बजेपछि देउसीभैलो लगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरेका हुन्।
उपत्यकाका तीनवटै प्रशासनले जारी गरेको सूचनामा सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी सडक, गल्ली वा पदमार्गमा देउसीभैलो खेल्न पूर्ण रूपमा रोक लगाइएको छ। सूचनामा भनिएको छ, ‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन। सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन पाइने छैन।’
प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, अनुशासित र व्यवस्थित ढंगले सञ्चालन गर्न र कसैको गुनासो नआउने गरी मात्र खेल्न अनुरोध गरेको छ।
विशेषगरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले पटका, भुइँचम्पा, आतिसबाजी जस्ता कुनै पनि विष्फोटक तथा आगलागीजन्य पदार्थको खरिद, बिक्री, ढुवानी, भण्डारण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। मैनबत्ती र बिजुली बत्तीको प्रयोग गर्दा सावधानी अपनाउन पनि सर्वसाधारणमा आग्रह गरिएको छ।
त्यस्तै, ललितपुर जिल्ला प्रशासनले चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न र नगराउन सचेत गराएको छ। यदि कसैले प्रशासनको सूचनाविपरीत गैरकानूनी कार्य गरेमा तत्काल नजिकको प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ।
समग्रमा, उपत्यका प्रशासनले तिहारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन कडा नियमहरू लागू गरेको छ, जसको पालना गर्न सबैलाई आह्वान गरिएको छ।