हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोग पुगेर गरे सनाखत

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २,धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ता प्रक्रियालाई औपचारिकता दिएका छन् । उनले आइतबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेर ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आफ्नो सनाखत गरेका हुन्।

यसअघि दल दर्ताका लागि आयोगमा निवेदन पेश भइसकेकोमा आयोगले आवश्यक प्रक्रियाका लागि सनाखत गर्न बोलाएपछि साम्पाङ आयोग पुगेका हुन् । उनीसँगै प्रस्तावित पार्टीका अन्य पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरूले पनि आयोगमा उपस्थित भएर सनाखत गर्ने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार, पार्टीका केन्द्रीय तहका पदाधिकारी र सदस्यहरूको सनाखत केन्द्रीय कार्यालयमै हुनेछ भने साधारण सदस्यहरूले आ-आफ्नो जिल्लाको निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुपर्नेछ । यसका लागि आयोगले सम्बन्धित जिल्ला कार्यालयहरूमा विवरण पठाइसकेको छ ।

सबै जिल्लाबाट साधारण सदस्यहरूको सनाखत कार्य सम्पन्न भई त्यसको पूर्ण विवरण आयोगमा प्राप्त भएपछि दल दर्ताको प्रक्रिया अन्तिम चरणमा पुग्नेछ । त्यसपछि आयोगको बैठक बसेर ‘श्रम संस्कृति पार्टी’लाई राजनीतिक दलको मान्यता दिने वा नदिनेबारे अन्तिम निर्णय गरिनेछ ।

प्रकाशित : 19 October, 2025

प्रतिक्रिया दिनुहोस्