आज लक्ष्मी पूजा, घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मी भित्र्याइँदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३, यमपञ्चकको तेस्रो दिन, अर्थात् कार्तिक कृष्ण औँसीको रात, आज घरघरमा धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार पनि आजै परेकाले बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरी यो दिनलाई विशेष रूपमा मनाइँदैछ।

‘सुखरात्री’ भनेर चिनिने आजको रातमा लक्ष्मीलाई आफ्नो घरमा स्वागत गर्न बिहानैदेखि घरआँगन सरसफाइ र लिपपोत गर्ने गरिन्छ। सफासुग्घर नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने अटल विश्वासका साथ घरका झ्याल, ढोका, भर्याङदेखि हरेक कुना-कन्दरा सफा गरी साँझमा दियो, बत्ती बालेर दीपावली गरिन्छ। आँगनदेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटोले लिपेर, चामलको पिठो र अबिरले लक्ष्मीको पदचिन्ह बनाई उनलाई आगमनको बाटो देखाइन्छ।

साँझमा पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मीको स्थापना गरी गरगहना, पैसा, फलफूल र सेलरोटी जस्ता परिकार चढाएर विधिपूर्वक पूजा गरिन्छ। पूजापछि घरकी छोरीचेलीलाई लक्ष्मीको स्वरूप मानेर पूजा गरी दक्षिणा दिने चलन छ। धार्मिक विश्वासअनुसार, लक्ष्मीपूजा गरिसकेपछि घरबाट धनसम्पत्ति बाहिर पठाउँदा लक्ष्मी पनि बाहिरिन्छिन् भन्ने मान्यता छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, मध्यरातमा घरका महिलाले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, घरमा लक्ष्मी र धनधान्यको वास होस्’ भनी कामना गर्ने शास्त्रीय परम्परा छ।

लक्ष्मीपूजाको साँझलाई युवतीहरूले समूहमा भैलो खेलेर थप उल्लासमय बनाउँछन्। पौराणिक कथाअनुसार, बलिराजाले आफ्नो भलो होस् भनी गाउन लगाएको ‘भलो होस्’ भन्ने वाक्य नै पछि अपभ्रंश भएर ‘भैलो’ हुन गएको मानिन्छ। भैलो खेल्न आउनेहरूलाई धान, चामल, पैसा र सेलरोटीजस्ता दक्षिणा दिने गरिन्छ, जसलाई पुण्य कमाउने अवसरका रूपमा लिइन्छ।

यद्यपि केही समुदायमा आजै गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार गाईपूजा औँसीपछिको प्रतिपदा तिथिमै गर्नुपर्ने उल्लेख छ। आजको दिन कुकुर र लक्ष्मीको पूजा एकैसाथ परेकाले धार्मिक र सांस्कृतिक दुवै हिसाबले यो दिन विशेष बनेको छ।

प्रकाशित : 20 October, 2025

प्रतिक्रिया दिनुहोस्