महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । कात्तिक ३, नेपाली साहित्यलाई सयभन्दा बढी कालजयी कृतिले समृद्ध बनाउने विराट प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विसं १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मेका देवकोटाले १० वर्षको कलिलो उमेरदेखि नै कविता लेखन सुरु गरेका थिए । आफ्नो साहित्यिक यात्रामा उनले महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र गीति लेखनमा समेत कलम चलाए । उनको खण्डकाव्य ‘मुनामदन’ नेपाली साहित्यमा हालसम्मकै सर्वाधिक बिक्री हुने कृतिको रूपमा स्थापित छ ।
देवकोटालाई नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराको प्रवर्तक मानिन्छ । उनका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम तथा पूर्वीय र पाश्चात्य दर्शनको अनुपम संयोजन पाइन्छ । उनको असाधारण प्रतिभाकै कारण भारतीय महापण्डित राहुल साङ्कृत्यायनले उनलाई भारतका तीन महाकवि—सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए । नाट्यसम्राट बालकृष्ण समका अनुसार देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ र ‘पागल’ कवितामार्फत तीन पटक जन्मिएका थिए ।
देवकोटाको लेखन गति आश्चर्यजनक थियो । उनले केवल तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य तयार पारेका थिए, जसले उनको तुरुन्त सिर्जना गर्नसक्ने अद्वितीय क्षमतालाई पुष्टि गर्छ ।
साहित्य सिर्जनाका अतिरिक्त देवकोटाले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेले । उनले आफ्ना कृतिहरूको विदेशी भाषामा अनुवाद गराए, ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरे । विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए, जुन उनको अविस्मरणीय योगदान हो । साथै, वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा पनि उनको सक्रिय भूमिका रहेको थियो ।