गौमाताको पूजा गरी आज गाई तिहार मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, आज कात्तिक शुक्ल प्रतिपदा, यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन। वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा गाईलाई गौमाताका रूपमा पूजाआजा गरी मीठा परिकार खुवाएर गाई तिहार मनाउँदै छन्।

वैदिक कालदेखि नै गाईलाई पवित्र मानेर पूजा गर्ने परम्परा रहिआएको छ। आमाको दूधजस्तै पौष्टिक दूध दिने भएकाले गाईलाई ‘गौमाता’ भनी श्रद्धापूर्वक सम्मान गरिन्छ। यो दिन गाईको पूजा गरेमा वर्षभरि नै शुद्धता प्राप्त हुने गहिरो धार्मिक विश्वास छ।

गाईको धार्मिक मात्र नभई वैज्ञानिक महत्व पनि रहेको मानिन्छ। स्थानीय जातका गाईको जुरोले सूर्य र चन्द्रमाबाट विशेष ऊर्जा ग्रहण गरी त्यसलाई दूध, गहुँत र गोबरमार्फत मानिसलाई शक्ति प्रदान गर्ने कुरा आधुनिक विज्ञानले समेत पुष्टि गरेको समाचारमा उल्लेख छ।

गाईपूजाको दिनसँग अर्को एउटा गहिरो धार्मिक मान्यता पनि जोडिएको छ। साउन शुक्ल पूर्णिमामा हातमा बाँधिएको रक्षाबन्धन आजकै दिन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् वैतरणी नदी तर्न सहज हुने र स्वर्गको बाटो खुल्ने विश्वास गरिन्छ।

यद्यपि, नेपालका केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, औँसीको समाप्ति र प्रतिपदाको सुरुवातको समयमा गाईपूजा गर्नु शास्त्रीय रूपमा सही मानिन्छ।

राष्ट्रिय जनावरको सम्मान पाएको गाई हिन्दूहरूको हरेक कर्ममा अभिन्न रूपमा जोडिएको छ। प्रत्येक कर्ममा ‘गाईदान’ को विधि अनिवार्य मानिन्छ, तर पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प गर्ने चलन बढेको छ।

प्रकाशित : 22 October, 2025

प्रतिक्रिया दिनुहोस्