नेवार समुदायले आज म्हः पूजा गर्दै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, नेवार समुदायले आज आफ्नो मौलिक एवं दार्शनिक पर्व ‘म्हः पूजा’ अर्थात् आत्म पूजा धुमधामका साथ गर्दैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्वमा व्यक्तिले आफ्नै शरीरलाई पूजा गरी आत्माको शुद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गर्दछन् ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएको शास्त्रीय मान्यताअनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो । यो पर्वले व्यक्तिलाई आफूभित्रको ईश्वरत्वलाई चिन्न र सम्मान गर्न प्रेरित गर्छ ।

म्हः पूजाको पछाडि एक गहिरो धार्मिक विश्वास पनि जोडिएको छ । मान्यताअनुसार, यदि व्यक्तिले आफ्नो आत्मालाई सन्तुष्ट र खुसी राख्न सक्यो भने देवी-देवताहरू पनि प्रसन्न भई आशीर्वाद दिन्छन् र यसबाट जीवन सार्थक हुन्छ भन्ने विश्वास गरिन्छ । यही शास्त्रीय र सांस्कृतिक विश्वासका आधारमा नेवार समुदायले पुस्तौँदेखि यो पर्व मनाउँदै आएका छन् ।

विशेषगरी नेवारी समुदायको बाहुल्यता रहेका काठमाडौँ, ललितपुर, भक्तपुरका साथै बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे र चौतारा जस्ता स्थानहरूमा आज घर-घरमा म्हः पूजाको रौनक छाएको छ ।

प्रकाशित : 22 October, 2025

प्रतिक्रिया दिनुहोस्