रानीपोखरीमा भाइटीकाको रौनक : बिहानैदेखि टीका लगाउनेहरुको घुइँचो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, यमपञ्चकको पाँचौं तथा अन्तिम दिन, भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ। विशेषगरी दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले यस मन्दिरमा पूजाआजा गरी टीका ग्रहण गर्ने परम्पराअनुसार हजारौं मानिसहरू यहाँ भेला भएका छन्।

वर्षमा एक पटक, केवल भाइटीकाको दिन मात्र खुल्ने भएकाले यस मन्दिरको विशेष धार्मिक महत्त्व छ। यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा भए पनि दर्शनार्थीहरूको चापलाई मध्यनजर गर्दै मन्दिर बिहानैदेखि खुला गरिएको हो।

मन्दिरमा पूजा तथा टीकाको सम्पूर्ण व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ। भक्तजनको सुविधाका लागि बालगोपालेश्वर मन्दिर आज दिनभर, बिहानदेखि बेलुकीसम्मै खुला रहनेछ।

२०७२ सालको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त भएको यो ऐतिहासिक मन्दिरको पुनर्निर्माण २०७७ सालमा सम्पन्न भएको थियो। पुनर्निर्माणपछि हरेक वर्ष भाइटीकाको दिन यो मन्दिर भक्तजनका लागि खुला हुँदै आएको छ, जसले आपसी भाइचारा र सद्भावको पर्वलाई थप जीवन्त बनाएको छ।

प्रकाशित : 23 October, 2025

प्रतिक्रिया दिनुहोस्