सानोभर्‍याङबाट ७० लाख अवैध नगद र सुन बरामद

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, काठमाडौंको सानोभर्‍याङस्थित एक घरमा प्रहरीले छापा मारी ठूलो परिमाणमा स्रोत नखुलेको नगद र अवैध सुन बरामद गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले एक चिनियाँ नागरिक र एक नेपाली युवतीको कोठाबाट करिब ७० लाख रुपैयाँ नगद र सुनका गरगहना बरामद गरेको हो ।

फाइल तस्वीर

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक यिनहोल र धादिङ, निलकण्ठ नगरपालिकाकी २२ वर्षीया रेजिना सुनार रहेका छन् । उनीहरूको कोठामा रहेको सुटकेस र सोफामुनि लुकाएर राखेको अवस्थामा ६९ लाख ८५ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

नगदका साथै, प्रहरीले बिल नभएको सुनजस्तो देखिने पहेँलो धातुबाट बनेका विभिन्न गरगहना पनि बरामद गरेको छ । जसमा नेकलेस दुई थान, झुम्का दुई थान, बाला चार थान, औंठी तीन थान, नथी एक थान र शीरबन्दी एक थान रहेका छन् । त्यसैगरी, उनीहरुको साथबाट चार थान आईफोन, एक थान म्याक बुक र अर्को एक थान मोबाइल पनि बरामद गरिएको छ ।

प्रहरीले घटनास्थलबाट बा.प्र. ०१–०३१ प ५२६२ नम्बरको बीवाईडी कार, सुनारको नागरिकता र यिनहोलको राहदानी पनि नियन्त्रणमा लिएको छ । सोही घरमा बस्ने अन्य चार जना महिलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : 23 October, 2025

प्रतिक्रिया दिनुहोस्