सरकारको दलहरूलाई अपिल : सडकमा नजानुस्, वार्तामा आउनुस्

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ८, सरकारले सडक प्रदर्शनको तयारीमा रहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिम औंल्याउँदै प्रदर्शनका कार्यक्रम रोकेर संवादमा आउन अपिल गरेको छ। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकपछि सरकारले यस्तो आग्रह गरेको हो।

प्रधानमन्त्री तथा सुरक्षा निकायका प्रमुखहरूबीच करिब दुई घण्टा चलेको बैठकमा मुलुकको पछिल्लो परिस्थिति, सम्भावित सडक प्रदर्शनले निम्त्याउने सुरक्षा जोखिम र आगामी निर्वाचनको सुरक्षा वातावरणबारे सुक्ष्म विश्लेषण गरिएको थियो।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार राजनीतिक दलका मागहरू संवादमार्फत सुन्न तयार रहेको प्रतिबद्धता जनाए। “अब सडकमा नगई पनि संवाद हुन्छ भने संवादमा नै आउनुपर्छ, सडकमा जान जरुरी छैन,” उनले भने, “सरकारले सबैका राजनीतिक मागहरू संवादको माध्यमबाट सुनिदिन्छ।”

गृहमन्त्री अर्यालले लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने र प्रदर्शनहरू अहिंसात्मक हुनुपर्नेमा जोड दिए। “यदि सडकमा जानुपर्ने परिस्थिति भए पनि सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन, कहीँकतै हिंसा हुनै भएन,” उनले थपे।

सरकारको तत्कालको नीति संवाद नै रहेको स्पष्ट पार्दै उनले भविष्यमा देश चलाउने लक्ष्य राख्ने राजनीतिक दलहरूले जिम्मेवार व्यवहार र राजनीतिक संस्कार देखाउनुपर्ने बताए। सरकारले मुलुकको शान्ति सुरक्षालाई सामान्यीकरण गर्ने र निर्वाचनको वातावरण बनाउने कुरामा केन्द्रित रहेको उनको भनाइ छ।

प्रकाशित : 25 October, 2025

प्रतिक्रिया दिनुहोस्