माइतीघरमा प्रहरी हस्तक्षेप : अनुमतिबिना प्रदर्शन गर्न खोज्ने ७५ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ८, जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्न भेला भएका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारलाई दबाब दिने उद्देश्यले जेनजी लगायतको विभिन्न समूहहरूले नियमित प्रदर्शन गर्दै आएको माइतीघरमा शनिबार अनुमति नलिई उपस्थित भएकाहरूलाई प्रहरीले रोकेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार, प्रशासनको पूर्वस्वीकृति बिना कुनै पनि कार्यक्रम गर्न नदिने नियमअनुसार उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

एसपी भट्टराईले घटनास्थलमा पहिलेदेखि नै अर्को समूह उपस्थित रहेको र नयाँ समूहको उपस्थितिले दुई पक्षबीच मनमुटाव भई तनाव बढ्न सक्ने अवस्था देखिएकाले पनि यो कदम चाल्नुपरेको स्पष्ट पारे। “एक समूह पहिल्यैदेखि त्यहाँ थियो, अर्को समूह थपिँदा तनाव हुने अवस्था बनेपछि हामीले हस्तक्षेप गरेका हौँ,” उनले भने।

विगतमा विभिन्न नागरिक समाज तथा अन्य समूहले माइतीघरलाई दबाबमूलक कार्यक्रमको मुख्य थलो बनाउँदै आएका थिए। तर, प्रशासनले अनुमति अनिवार्य गरेपछि आजको प्रदर्शन रोकिएको हो।

प्रकाशित : 25 October, 2025

प्रतिक्रिया दिनुहोस्