छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ९, सूर्यदेवको उपासना गरिने आस्थाको महापर्व छठको दोस्रो दिन आज ‘खरना’ धुमधामका साथ मनाइँदै छ। चार दिनसम्म चल्ने यस पर्वमा आज ब्रतालुहरू दिनभर उपवास बसी साँझपख खीर ग्रहण गरेर खरना मनाउँछन्।

खरनाका दिन साँझमा चामल, दूध र सक्खर प्रयोग गरी बनाइएको खीरलाई प्रसादको रूपमा ग्रहण गरिन्छ। यो प्रसाद ब्रतालुले ग्रहण गरेपछि परिवारका सदस्यहरूलाई बाँडिन्छ र आफन्त एवं छिमेकीहरूलाई समेत प्रसादको रूपमा पठाउने परम्परा छ।

सन्तानको सुख, समृद्धि र दीर्घायुको कामनासहित मनाइने छठ पर्व हिजो शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको थियो, जसमा ब्रतालुले स्नान गरी चोखो खानेकुरा खाएका थिए। खरनापछि भोलि सोमबार ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्, जुन छठको मुख्य दिन मानिन्छ। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो महापर्व विधिवत् रूपमा समापन हुनेछ।

छठ पूजामा बाँसबाट बनेका ढाकी, डगरी तथा माटोका कोसिया–कुरबार र हाँडी जस्ता सामग्रीको प्रयोग गरिन्छ। प्रसादका रूपमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवाका साथै विभिन्न प्रकारका मिठाई र फलफूल सूर्यदेवलाई अर्पण गरिन्छ।

छठलाई अत्यन्तै कठोर र निष्ठापूर्वक मनाइने पर्वका रूपमा लिइन्छ। अर्घ्य दिने मुख्य ब्रतालुहरूले खरनाको प्रसाद ग्रहण गरेपछि करिब ४८ घण्टासम्म पानीसमेत नपिई निराहार उपवास बस्ने गर्दछन्। पर्वका सबै विधि र परिकारहरू पूर्ण शुद्धता र नियमनिष्ठाका साथ तयार गर्नुपर्ने भएकाले यसलाई कठिन व्रत मानिन्छ।

प्रकाशित : 26 October, 2025

प्रतिक्रिया दिनुहोस्