उच्च हिमाली भागमा हिमपातको सम्भावना
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १२, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ । उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र ती नदीका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ ।
ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्छ र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ ।
यस्तै बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेश हुँदै विस्तारै कमजोर भएर न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक आएर पूर्वतर्फ सर्ने महाशाखाले जनाएको छ ।


