प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, प्रतिनिधिसभा विघटनसम्बन्धी विवाद र अन्य महत्त्वपूर्ण संवैधानिक प्रश्नहरू जोडिएका १६ वटा रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, यी रिटहरूमा प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनलाई बदर गरी संसद् पुनःस्थापना गर्न उत्प्रेषण र परमादेशको आदेश माग गरिएको छ।

‘जेनजी आन्दोलन’ पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र प्रतिनिधिसभा विघटन गरिएको कदम गैरसंवैधानिक भएको दाबी गर्दै दायर भएका रिटहरूमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका निर्णयहरू सच्याउन पनि माग गरिएको छ।

यसका साथै, सर्वोच्च अदालतका पूर्वन्यायाधीश मन्त्रीको रूपमा सरकारमा सहभागी हुनु असंवैधानिक भएको भन्दै परेको रिट तथा ‘जेनजी आन्दोलन’ दमनमा भूमिका खेलेको आरोपमा निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीमाथि कारबाहीको माग गरिएका रिटहरूलाई पनि एकसाथ सुनुवाइ गरिने भएको छ।

प्रवक्ता कोइरालाले आगजनीबाट कम क्षति पुगेको सर्वोच्चको ‘एनेक्स भवन’को माथिल्लो तल्लामा रहेको पुरानो कोठामा संवैधानिक इजलास सञ्चालन हुने जानकारी दिनुभयो। सामान्यतया गम्भीर संवैधानिक प्रश्न जोडिएका निवेदनहरूलाई प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीशले संवैधानिक इजलासमा पठाउने प्रक्रिया छ, जसअनुसार यी मुद्दाहरूको सुनुवाइ हुन लागेको हो।

प्रकाशित : 29 October, 2025

प्रतिक्रिया दिनुहोस्