आगजनीबारे जाँचबुझ गर्न आयोगको टोली पुग्यो नख्खु कारागार
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १७, जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

आयोगको टोली सोमबार नख्खु कारागार पुगेर थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको हो ।
आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको हो । आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने कारागारबाट बाहिर निस्किएका थिए ।
उनी निस्किएपछि अरू कैदीबन्दीहरू पनि कारागारबाट बाहिर निस्किएको आरोप लागेको छ । तर रवि लामिछाने र उनी आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले नख्खु कारागारका जेलर सत्यराज जोशीको जारी गरेको पत्रका आधारमा लामिछाने थुनामुक्त भएको दाबी गरेका थिए ।
नख्खुका जेलर जोशीसँग सोधपुछ गरेको भोलिपल्ट आयोगले थुनामा रहेका लामिछानेसँग सोधपुछ गरेको हो ।
बुटबलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालीमा ल्याएर सहकारी ठगी गरेको आरोपमा लामिछाने थुनामा परेका छन् । भैरहवा कारागारमा रहेका उनलाई केही महिनाअघि नख्खुमा ल्याइएको हो । उनी नख्खुमै रहेका बेला भएको हुलदंगापछि उनी भदौ २४ मा कारागारबाट बाहिर निस्किएका थिए ।
सोधपुछका क्रममा लामिछाने थुनाबाहिर निस्कनुपर्दाको अवस्था, जेलरको नाममा जारी भएको पत्र, त्यसपछि उनी जेलबाहिर जाँदाको परिस्थितिदेखि अरू विषयमा छलफल भएको स्रमेतले बतायो ।
गतसाता उपत्यका बाहिर रहेको जाँचबुझ आयोगका पदाधिकारीहरू विभिन्न ठाँउको सूचना संकलन गरी काठमाडौं फर्किएका थिए । आइतबारदेखि आयोग काठमाडौंका घटनामा केन्द्रित हुन थालेको हो ।
आइतबार मात्रै आयोगले प्रहरी मुख्यालयमा पत्र पठाएको थियो, जसका आधारमा हेडक्वार्टरले भदौं २३ र २४ गते जिम्मेवारीमा रहेका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न सर्कुलर जारी गरेको छ ।


