जेनजी आन्दोलनमा प्रहरी हत्या गरेको आरोपमा पाँच जना पक्राउ
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १७, जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना कारागार चलान भएका हुन् ।
असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका कैलालीका अनुयम भण्डारी पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।


