नेपालले पठायो मलेसियालाई आधिकारिक कूटनीतिक नोट
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २४ , मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै नेपालले आधिकारिक कूटनीतिक नोट पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको पत्र परराष्ट्र मन्त्रालय मार्फत क्वालालम्पुरस्थित नेपाली दूतावास हुँदै मलेसिया पठाइएको हो । गत शुक्रबार पठाइएको पत्र दूतावासले मलेसियाली सरकारलाई बुझाउन लागेको छ ।
‘शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भयो, आज इमेल मार्फत मलेसियाको परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँछौं,’ दूतावासका एक अधिकारीले भने, ‘इमेल मार्फत पत्र पठाउनुका साथै मन्त्रालयका अधिकारीहरूसँग प्रत्यक्ष भेटेर समेत कुरा गर्न खोजिरहेका छौं ।’
मलेसियाले पठाएको पत्रले म्यानपावर व्यवसायीबीच सिन्डिकेट प्रणाली लागु गर्ने प्रयास गरेको ठहर गर्दै नेपालले ती मापदण्ड कार्यान्वयन गर्न असम्भव रहेको स्पष्ट पारेको छ ।


