वीरगंजमा बेवारिसे सुटकेसमा बमको खबरले बजार आतंकित, सेनाद्वारा डिस्पोज
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २७ , बुधबार साँझ ५ बजे वीरगंज महानगरपालिका–२, छप्कैयास्थित बिर्यानी हाउसअगाडि भेटिएको बेवारिसे सुटकेसले बजार आतंकित भयो । किनमेल र दिनभरको कामपछि घर फर्कन लागेकाहरु पनि त्रसित भए । शंकास्पद सुटकेसमा बम भएको हल्लाले वीरगंजको जनजीवन त्रसित बनेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, बुधबार साँझ खैरो रङको सुटकेस बेवारिसे अवस्थामा भेटिएको सूचना प्रहरी बिट छप्कैयामा आएपछि शुरुमा हबल्दार रञ्जनराज पाण्डेको कमाण्डमा प्रहरी घटनास्थल पुगेको थियो । सुटकेस शंकास्पद देखिएपछि घटनास्थल सुरक्षा घेरामा राखेर वडा प्रहरी कार्यालय विर्ता, पर्साबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमाण्डमा थप टोली समेत परिचालन भयो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा आइपुग्यो ।
जनगण वीरगंजबाट ७ जनाको विशेष बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले सुटकेस ‘डिस्पोज’ (नष्ट) गरेको छ । बम डिस्पोजल टोलीद्वारा गरिएको परीक्षणमा सुटकेसभित्र कुनै प्रकारको विस्फोटक पदार्थ थिएन । तर बमको हल्लाले वीरगंज बजार भने त्रसित बन्यो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आर्थिक नगरी वीरगंजमा खाली सुटकेस देखाएर कसैले आतंक मच्चाउन खोजेको हो कि भन्ने जनमानसमा परेको छ ।


