मेक्सिकोमा मेयरको हत्या भएपछि सुरु भएको जेनजी प्रदर्शन देशभर फैलियो

सहयात्रा टिभी

मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या भएपछि मेक्सिकोमा सुरु भएको जेनजी शैलीको प्रदर्शन देशभर फैलिएको छ ।

विरोध प्रदर्शनका लागि आह्वान गर्ने जेनजी मेक्सिको नामक समूहले सामाजिक सञ्जालमा प्रसारित एउटा ‘घोषणापत्र’ मा भनेको छ – यो गैर-दलीय हो र यसले हिंसा, भ्रष्टाचार तथा शक्तिको दुरुपयोगबाट दिक्क भएका मेक्सिकोका युवाहरूको प्रतिनिधित्व गर्दछ ।

नोभेम्बरको सुरुमा अपराध विरोधी छवि बनाएका मेयरको सार्वजनिक रूपमा भएको हत्यापछि बढ्दो हिंसाको निन्दा गर्दै हजारौं मानिसहरू प्रदर्शनमा उत्रिएका हुन् ।

शनिबार मेक्सिकोभर ‘जेन-जी’ को ब्यानरमा प्रदर्शन भएको छ । समाचार संस्था रोयटर्सका अनुसार, मेक्सिको सिटीमा मुख ढाकेका प्रदर्शनकारीहरूको एउटा सानो समूहले राष्ट्रपति क्लाउडिया शेनबाम बस्ने नेशनल प्यालेस वरिपरिका बारहरू भत्काए । यसक्रममा भिड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गर्ने दङ्गा नियन्त्रण गर्ने प्रहरीसँग प्रदर्शनकारीहरूको झडप पनि भएको छ।

मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाज्क्वेजले एक प्रेस सम्मेलनमा १०० प्रहरी अधिकारी घाइते भएका जानकारी दिए । उनका अनुसार, घाइतेमध्ये ४० जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

शेनबामको सरकारले शनिबारको देशव्यापी प्रदर्शन पछाडिको मनसायमाथि प्रश्न उठाएको छ । सरकारले उनीहरू ठूलो मात्रामा दक्षिणपन्थी राजनीतिक विरोधीहरूद्वारा आयोजित गरिएको र सामाजिक सञ्जालमा बटहरूद्वारा प्रचार गरिएको आरोप पनि लगाएको छ ।

प्रकाशित : 16 November, 2025

प्रतिक्रिया दिनुहोस्