विभिन्न बाह्र वटा पार्टीले निर्वाचनका लागि गरे दल दर्ता

सहयात्रा टिभी

काठमाडौं । मंसिर २ , विभिन्न बाह्र वटा पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यतालिका छ ।

सोमबार पहिलो दिन बाह्र वटा पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ । जसमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), आम जनता पार्टी (आजपा) र देश विकास पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लवोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल मानवतावादी पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेकाले मात्रै चुनाव लड्न पाउँछन् ।

सरकारले राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि अनौपचारिक रुपमा आग्रह समेत गरेको छ ।

कतिपय राजनीतिक दलले निर्वाचन हुन नसक्ने बताइरहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दल दर्ताको वातावरण बनाउन नागरिक समाजको समेत साथ खोजेकी छन् ।

प्रधानमन्त्री कार्कीले सोमबार नागरिक समाजका अगुवाहरूसँग छलफल गरेकी थिइन् । छलफलमा उनले निर्वाचन सुनिश्चितताका लागि मंसिर १० को डेटलाइन स्मरण गराएकी थिइन् ।

 

 

प्रकाशित : 18 November, 2025

प्रतिक्रिया दिनुहोस्