बारामा जेनजी युवा कुटेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ
सहयात्रा टिभी
काठमाडौं । मंसिर ४ , बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन् । दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
बुधबार सिमरामा भएको वादविवादको क्रममा जेनजी युवालाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई पक्राउ गरेको हो ।
आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए ।
प्रहरीले बाँकी चारजना पक्राउ नगरेको भन्दै जेनजी युवाले आज बिहान १० बजेबाट सिमरा चोकमा टायर बालेर पुन: प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको कारण यातायात ठप्प छ ।
एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा आउँदै थिए ।
सो कार्यक्रमलाई लक्षित गर्दै जेनजी अगुवा सम्राट उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको कार्यक्रम असफल पार्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए ।
उनीहरूले विमानस्थलभित्र ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै निरन्तर नारावाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो ।


