सरकार, जेनजी र दलहरूलाई संयमित हुन नागरिक समूहको अपिल
सहयात्रा टिभी
काठमाडौं । मंसिर ५ , नागरिक समूहले सरकार, जेनजी र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ ।

बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको उल्लेख जनाएको छ ।
नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले विज्ञप्ति निकालेर संयमित हुन अपलि गरेका हुन् ।
विज्ञप्तिमा राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको संवेदनशील चरणमा देखिएको पछिल्लो अराजनीतिक गतिविधिले देशको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पारेको उल्लेख छ ।
सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमै भएको भिडन्त, कर्फ्यू आदेश, संरचनाहरूमा क्षति, तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको पनि नागरिक समूहले उल्लेख गरेको छ ।
शान्तिपूर्ण निर्वाचन हुन नसके देश राजनीतिक शून्यतामा धकेलिन सक्ने त्यसको प्रतिकूल असर सबै पक्षले भोग्नुपर्नेतर्फ नागरिक समूहले सचेत गराएको छ ।
नागरिक समूहले सरकार, राजनीतिक दलहरू तथा जेनजी समूहलाई देशको शान्ति सुव्यवस्थामा खलल पुग्ने तथा चुनावी वातावरण बिग्रने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।


