सरकार राष्ट्रिय सभा विधेयकहरू अगाडि बढाउन तयार
सहयात्रा टिभी
काठमाडौं । मंसिर ५ , सरकार राष्ट्रिय सभामा रहेका विधेयकहरू अगाडि बढाउन तयार भएको छ ।

सरकारले नै विधेयकमाथि छलफल अगाडि बढाउन भनेपछि विधायन व्यवस्थापन समितिले विधेयकमाथि छलफल सुरु गरेको छ ।
विधायन समितिकी सभापति तुलासा कुमारी दहालका अनुसार प्रतिनिधिसभा विघटन हुँदा ३० वटा विधेयक निष्क्रिय भए ।
तर, राष्ट्रिय सभामा दर्ता भएका र राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक यथावत छन् । थप एउटा विधेयक सरकारले ल्याएको छ । यो सँगै राष्ट्रिय सभामा रहेका विधेयकको संख्या ६ पुगेको हो ।
६ वटा मध्ये तीन वटा विधेयक सभामा रहेका छन् भने तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा रहेका छन् ।
सभामा रहेका विधेयकहरू हुन्– राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)विधेयक, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक र वैकल्पिक विकास वित्त परिचालन विधेयक ।
यस्तो अवस्थामा राष्ट्रिय सभाले बिचाराधीन विधेयक अगाडि बढाएर सभाबाट पारित गरेर मात्रै राख्न सक्दछ । प्रतिनिधि सभाको चुनाव भएर आए लगत्तै पठाउन सकिने र प्रतिनिधि सभाबाट समेत पारित भएपछि मात्रै ऐनमा रुपान्तरित हुन सक्दछ ।
संसदीय समितिका सभापति दहाल भन्छिन्, ‘नयाँ प्रतिनिधिसभा आएलगत्तै पठाउन सकिने र कानुन निर्माणलाई द्रुतता दिन सकिने भएकाले विचाराधीन विधेयक अगाडि बढाइएको हो ।’


