सभामुख घिमिरेले प्रधानमन्त्री कार्कीको नैतिकतामा प्रश्न उठाए

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५ , सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सुशीला कार्कीको नैतिकतामा प्रश्न उठाएका छन् ।

अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै सभामुख घिमिरेले कार्कीले मन्त्रीपरिषद्को नेतृत्व गर्नु संवैधानिक, कानुनी र नैतिकरूपमा समेत नमिल्ने जिकिर गरेका हुन् ।

सभामुखले एकातिर प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा नखटाइने व्यवस्था देखाएका छन् ।‍

अर्कोतिर खिलराज रेग्मीलाई अन्तरिम मन्त्रीपरिषद्को अध्यक्ष बनाउने गरि राष्ट्रपतिद्वारा भएको बाधा अड्काउ फुकाउने आदेश विरुद्ध परेको रिटमा कार्की स्वयंले गरेको व्याख्या देखाएका छन् ।

रेग्मी नेतृत्वको मन्त्रिपरिषद् गठनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यसबेला पनि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिटको सुनुवाइ गरेको थियो ।

यी आधार देखाउँदै सभामुखले कार्कीले नैतिक रूपमा समेत मन्त्रिपरिषद्को नेतृत्व लिन नमिल्ने जिकिर गरेका हुन् ।

‘यसरी आँफैले फैसलामार्फत् असंवैधानिक र गलत करार गरिसकेको विषयलाई बेवास्ता गर्दै सुशीला कार्कीले अन्तरिम मन्त्रीपरिषद्को नेतृत्व गर्नु संवैधानिक, कानुनी र नैतिकरुपमा समेत नमिल्ने देखिन्छ,’ लिखित जवाफमा उल्लेख छ ।

 

प्रकाशित : 21 November, 2025

प्रतिक्रिया दिनुहोस्