केपी शर्मा ओली र रमेश लेखकलाई बयानमा बोलाउने तयारी
सहयात्रा टिभी
काठमाडौं । मंसिर ७, भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने अन्तिम तयारी थालेको छ ।

सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको उक्त जाँचबुझ आयोगले आफ्नो ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेको जनाएको छ ।
आयोगका अध्यक्ष कार्कीका अनुसार, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाउनुअघि सुरक्षा निकायका तत्कालीन उच्च अधिकारीहरूसँग बयान लिने प्रक्रिया बाँकी छ । आयोगले अब तत्कालीन उपत्यका प्रहरी प्रमुख (हालका प्रहरी महानिरीक्षक), तत्कालीन प्रहरी महानिरीक्षक र गृहसचिवसँग बयान लिनेछ । सुरक्षा प्रमुखहरूको बयानबाट आन्दोलन दमन गर्न ‘कसले आदेश दिएको हो’ भन्ने तथ्य खुलेपछि, सोही आधारमा प्रश्नावली तयार पारी ओली र लेखकलाई आयोगमा बोलाइनेछ ।
आयोगले यसअघि नै मुख्यसचिव एकनारायण अर्यालदेखि प्रहरीका डीआईजीसम्मका अधिकारीहरूको बयान लिइसकेको छ । साथै, नेपाली सेनासँग पनि लिखित रूपमा जवाफ मागिएको छ । उच्च स्रोतका अनुसार आयोगका अधिकारीले सैनिक मुख्यालयमै पुगेर लिखित प्रश्नावली छाडेका छन् ।
आयोगले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूसँग पनि भेटेर जानकारी लिने भएको छ । सम्भवतः अबको एक साताभित्र बयानको सम्पूर्ण काम सक्ने गरी आयोगले तयारी तीव्र पारेको छ ।


