एमालेले सर्वोच्चमा पेश गरेको रिट निवेदन दर्ता

सहयात्रा टिभी

काठमाडौं । मंसिर १०, प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।

एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मंगलबार) सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए ।

उक्त निवेदन दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी गराइएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए ।

उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।

 

 

प्रकाशित : 26 November, 2025

प्रतिक्रिया दिनुहोस्