राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी माथि छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिँदैछ ।

कार्यकाल सकिन लागेकामध्ये बामदेव गौतम राष्ट्रपतिबाट मनोनित हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो । कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई/दुई, लुम्बिनीबाट तीन सदस्य निर्वाचित हुने छन् ।

प्रकाशित : 3 December, 2025

प्रतिक्रिया दिनुहोस्