एनपीएलमा आज दुई खेल : प्लेअफको आशा जीवित राख्न पोखरा र चितवनलाई जित्नैपर्ने दबाब
सहयात्रा टिभी
काठमाडौं । मंसिर १८, दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्। लिग चरणका खेलहरू रोमाञ्चक मोडमा पुग्दा आज हुने खेलहरूले प्लेअफको समीकरणमा ठुलो प्रभाव पार्ने देखिन्छ।

दिनको पहिलो खेल बिहान ११ : ४५ बजे सुरु हुनेछ, जसमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज आमनेसामने हुँदैछन्। यो खेल विशेषगरी पोखरा एभेन्जर्सका लागि निकै संवेदनशील मानिएको छ। काठमाडौँ गोर्खाजले ६ खेल खेल्दै ८ अंक जोडेर बलियो स्थिति बनाएको छ भने पोखराले ५ खेलबाट मात्र ४ अंक जोड्न सकेको छ। तसर्थ, प्रतियोगिताको प्लेअफ पुग्ने सम्भावनालाई जीवित राख्नका लागि पोखरालाई आजको खेल जित्नैपर्ने चर्को दबाब छ।
त्यस्तै, आजै अपराह्न ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ। यो खेलमा सुदूरपश्चिम रोयल्स उच्च मनोबलका साथ मैदान उत्रनेछ, किनकि १० अंकका साथ टोली शीर्ष स्थानमा रहँदै यसअघि नै प्लेअफमा पुगिसकेको छ। यता ५ खेलबाट ४ अंक मात्र जोडेको चितवन राइनोजलाई भने अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ। आजका दुवै खेल जित्नैपर्ने दबाबमा रहेका टोलीहरूका लागि ‘गर वा मर’ को स्थितिमा रहेका छन्।


