लेटाङकी बालिका अंशु गौतमको हत्या अभियोगमा छिमेकी पक्राउ

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१, मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको विभत्स हत्या प्रकरणमा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्ने व्यक्ति मृतक बालिकाकै छिमेकी पदम अधिकारी हुन्।

घटना लगत्तै फरार भएका अधिकारी भारतको आसामस्थित तीनसुकियामा लुकेर बसेका थिए। शुक्रबार राति उनी घर फर्किएको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई राति नै नियन्त्रणमा लिएको हो। प्रहरीको अनुसन्धान र सोधपुछका क्रममा अधिकारीले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन्। उनले बालिकालाई हँसियाले रेटेर तथा खुकुरी प्रहार गरी हत्या गरेको बयान प्रहरीसमक्ष दिएको बताइएको छ।

गत असोज २१ गते बेपत्ता भएकी अंशुको शव घटनाको १८ दिनपछि चिसाङ खोला नजिकैको जंगलमा फेला परेको थियो। मृतकका बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई मुख्य संदिग्धका रूपमा खोजी गरिरहेको थियो।

आरोपी अधिकारी पक्राउ परेसँगै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। यस घटनाको विस्तृत विवरण र अनुसन्धानका अन्य पाटोहरू सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

प्रकाशित : 7 December, 2025

प्रतिक्रिया दिनुहोस्