बार एशोसियसनका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ
सहयात्रा टिभी
काठमाडौं । मंसिर २२ , नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सफाइ पाएका छन् । उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा घिमिरेले सोमबार सफाइ पाएका हुन् ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले उक्त मुद्दामा घिमिरेलाई सफाइ दिएको हो । इजलासले घिमिरेमाथिको आरोप स्थापित हुन नसक्ने आदेश गरेको हो ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलनाको उजुरी दिएका थिए ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरेले गत ११ असोजमा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए ।
घिमिरेको टिप्पणीले अदालतप्रतिको जनादर घटाउने भन्दै मानहानीको निवेदन परेको थियो ।


