सशस्त्रले बनायो निर्वाचन परिचालन नीति, बन्दोबस्तीसहित एक महिनाअघि नै कार्यक्षेत्रमा खटिने

सहयात्रा टिभी

काठमाडौं । मंसिर २६ , आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बल नेपालले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको छ । निर्वाचनको मितिभन्दा एक महिनाअघिदेखि नै आवश्यक बन्दोबस्तीका सामग्री तथा सवारी साधनसहित सशस्त्र प्रहरीको टोली कार्यक्षेत्रमा परिचालित हुने भएको हो ।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले चरणबद्ध परिचालनको रणनीति बनाएको छ । जसअनुसार निर्वाचनको एक महिनाअघि सामान्य परिचालन सुरु हुनेछ भने मतदानको १५ दिनअगाडिदेखि क्षेत्र सुरक्षा बेस (बेस क्याम्प) स्थापना गर्ने, स्ट्राइकिङ फोर्स परिचालन गर्ने तथा मोबाइल गस्ती टोली खटाउने कार्यलाई तीव्रता दिइनेछ । यसका लागि सङ्गठनले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति’ समेत तर्जुमा गरिसकेको छ ।

उक्त सुरक्षा नीतिअनुसार अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएका सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी खटिनेछ । विशेषगरी निर्वाचन सुरक्षाको ‘दोस्रो घेरा’ (सेकेन्ड रिङ) मा रहेर अन्य सुरक्षा निकायहरूसँगको प्रभावकारी समन्वयमा सुरक्षा व्यवस्था मिलाइने सशस्त्र प्रहरीले जनाएको छ ।

निर्वाचनमा खटिने जनशक्तिलाई दक्ष र जिम्मेवार बनाउन विशेष पाठ्यक्रम नै तयार गरी ‘निर्वाचन सुरक्षा अनुशिक्षण तालिम’ प्रदान गर्ने निर्णय पनि सङ्गठनले गरेको छ । आम नागरिकको मताधिकार सुनिश्चित गर्दै निर्वाचनविरोधी कुनै पनि गतिविधि हुन नदिन र योजनाबद्ध परिचालनका लागि सशस्त्र प्रहरीले १६ बुँदे सुरक्षा नीति अख्तियार गरेको छ ।

प्रकाशित : 12 December, 2025

प्रतिक्रिया दिनुहोस्