एमाले महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै, प्रतिनिधि लाइनमा
सहयात्रा टिभी
काठमाडौं । पुस २, नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मंगलबार साँझ नै सुरु हुने भनिएको मतदान प्रक्रियामा प्राविधिक समस्या देखिएपछि निर्वाचन तालिका आज बिहानका लागि सारिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने पूर्वसूचना अनुसार महाधिवेशन प्रतिनिधिहरू मतदानस्थलमा लामबद्ध भइसकेका छन्। नेतृत्व चयनको प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन यसपटक विद्युतीय भोटिङ मेसिन (EVM) को प्रयोग गरिँदैछ।

मतदानको प्राविधिक जिम्मा पाएको ‘रामलक्ष्मण इनोभेसन प्रालि’का प्राविधिक लक्ष्मण रिमालका अनुसार मेसिनहरूमा देखिएको समस्या समाधान भई पूर्ण रूपमा तयार अवस्थामा छन्। उनले आफ्नो टोलीको काम सकिएको र अब कुनै प्राविधिक जटिलता नरहेको स्पष्ट पार्दै निर्वाचन आयोगको आदेश आउनासाथ मतदान प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
मतदानस्थलमा कुल ८० वटा विद्युतीय मेसिन जडान गरिएको छ। यस महाधिवेशनमा कुल २ हजार २ सय ६३ जना प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ।


