मधेश प्रदेशले आज नयाँ सभामुख पाउँदै, गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा
सहयात्रा टिभी
काठमाडौं । पुस ६, मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । गत मंसिरदेखि रिक्त रहेको उक्त पदमा नयाँ नेतृत्व चयन गर्न आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने कार्यतालिका तय भएको छ ।

सभामुख पदका लागि दुई जना सांसदको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दिएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेका तर्फबाट प्रदेश सांसद त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसले गर्दा सभामुख चयन प्रक्रियामा द्विपक्षीय भिडन्त हुने देखिएको छ ।
यसअघि सभामुख रहेका रामचन्द्र मण्डललाई पद अनुकूलको आचरण नगरेको भन्दै सात दलीय गठबन्धनले गत मंसिर ३ गते दुई तिहाइ बहुमतका आधारमा पदमुक्त गरेको थियो । मण्डलको बर्खास्तीपछि रिक्त स्थान पूर्ति गर्न आज निर्वाचन हुन लागेको हो । प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।


