देशभर चिसो बढ्यो, के पानी पर्दैछ ?

सहयात्रा टिभी

काठमाडौं । पुस ६, पश्चिमी वायुको प्रभावका कारण अहिले देशभरको मौसममा परिवर्तन आएको छ । काठमाडौं उपत्यकासहित पहाडी भू–भागमा आंशिक बदलीका कारण मधुरो घाम लागेको छ भने तराई–मधेशका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्हरूले यो अवस्था अझै केही दिन लम्बिने र चिसो बढ्ने पूर्वानुमान गरेका छन् ।

मौसमविद् डेभिड ढकालका अनुसार पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली भए पनि तत्काल वर्षाको सम्भावना भने देखिएको छैन । वर्षाका लागि वायुमण्डलमा पर्याप्त आद्रता नभएको र बादल माथिल्लो वायुमण्डलमा बढी केन्द्रित भएकाले पानी पर्ने सम्भावना नरहेको हो । मंगलबार साँझदेखि सुरु भएको बादल लाग्ने क्रम आज र भोलि (बिहीबार) सम्म जारी रहने तथा पर्सि साँझदेखि मात्र मौसममा सुधार आउने अनुमान गरिएको छ ।

बादलका कारण दिउँसो घाम राम्रोसँग नलाग्दा अधिकतम तापक्रममा गिरावट आई चिसो महसुस बढी भएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ भने हिजोको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस मात्र थियो, जुन औसत (१९.९ डिग्री) भन्दा कम हो । मौसमविद् ढकालले न्यूनतम तापक्रममा खासै परिवर्तन नभए पनि दिउँसोको चिसो बढ्ने भएकाले बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।

यता तराईका जिल्लाहरूमा भने बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनाएको छ । धनगढी, नेपालगन्ज, भैरहवा, जनकपुर, सिमरादेखि विराटनगर र चन्द्रगढीसम्मै बाक्लो हुस्सु लागेको छ । तराईमा दिउँसो पनि घामको प्रकाश राम्रोसँग नदेखिने र आकाश पूर्ण रूपमा नखुल्ने भएकाले अत्याधिक चिसो बढेको छ । मौसमविद्का अनुसार होचो भू–भागमा जाडो याममा देखिने यो मौसमी प्रणाली स्वाभाविक प्रक्रिया हो । छिमेकी भारतका सीमावर्ती क्षेत्रहरूमा पनि यस्तै मौसमी अवस्था रहेको छ । हालको मौसमी अवस्थाले वायु प्रदूषणमा भने विगतका वर्षहरूमा जस्तो गम्भीर असर नपारेको बताइएको छ ।

प्रकाशित : 21 December, 2025

प्रतिक्रिया दिनुहोस्