इमरान खान दम्पतीलाई १७–१७ वर्षको कठोर कारावास सजाय
सहयात्रा टिभी
काठमाडौं । पुस ६, पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ ।

तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो ।
१७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।
यो फैसला रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतले सुनाएको हो । इमरान खान हाल यही जेलमा थुनामा छन् ।
उनीहरूलाई देशले प्राप्त गरेका उपहार खरिद गर्दा अनियमितता गरेको आरोप छ । पाकिस्तानमा तोशाखाना प्रणालीअन्तर्गत विदेशबाट प्राप्त उपहारहरू राज्यको खजानामा बुझाउनुपर्ने वा तोकिएको मूल्य तिरेर खरिद गर्नुपर्ने व्यवस्था छ ।
आरोप अनुसार, इमरान खान र बुशरा बीबीले २०२१ मा साउदी युवराजबाट प्राप्त बुलगारी ब्रान्डको आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेका थिए ।
अभियोजन पक्षका अनुसार करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने उक्त सेट उनीहरूले करिब २९ लाख पाकिस्तानी रुपैयाँमै लिएका थिए, जसका कारण सरकारी ढुकुटीमा करोडौं रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।
फैसला सुनाउने न्यायाधीश शाहरुख अर्जुमन्दले दुवैलाई विश्वासघातको अभियोगमा १०–१० वर्षको कठोर कारावास र भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप ७–७ वर्षको सजाय सुनाएका हुन् ।


